समर क्याम्प २०११ Last Updated: Jun 06, 2011 06:45pm

नेपालका योगा प्रशिक्षक तथा चिन्तक प्राचार्य चिन्तामणि योगीले बिगतका बर्षहरुमा जस्तै अमेरिकाका बिभिन्न शहरहरुमा नेपाली बालबालिकाहरुका लागि समर क्याम्प २०११ शुरु गर्नु भएको छ ।

यसै हप्ता अमेरिकाको लस एन्जलस आईपुग्नु भएका योगीले आगामी जुलाई ४ तारिखसम्म करिव १ महिना भित्र अमेरिकाका एक दर्जन जति शहरहरुमा नेपाली बालबालिकाहरुका लागि समर क्याम्प, बिभिन्न सांस्कृतिक तथा धार्मिक प्रबचन,सत्संग तथा प्रशिक्षण लगायतका कार्यक्रम संचालन गर्नु हुने छ ।

यसै बीच उहाँको नेतृत्वमा लस एन्जलस क्षेत्र वरपर रहेका नेपाली बालबालिकाका लागि दुई दिने प्रशिक्षण कार्यक्रम(प्रारम्भिक समर क्याम)यही बुधवार सम्पन्न भयो ।

भगवान पशुपतिनाथ र बुद्ध मन्दिर निर्माण गर्न लागिपरेको श्री पशुपति फाउण्डेशन यू एस ए, लस एन्जलसले आयोजना गरेको गुरु योगीको यस कार्यक्रममा यस क्षेत्र वरपरका ४० बालबालिका र त्यति नै परिवारको उपस्थिती थियो । 

लस एन्जलसबाट नेपाली पोष्टका लागी गोकुल ढकालले लेख्नु भएको छ - कार्यक्रममा गुरु योगीले बालबलिकाहरुलाई मातृभूमी, बुद्ध, शान्ति, नेपालित्व र नेपाली संस्कारको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा खेल,बालप्रतिभा प्रदर्शनको आयोजना गरिनुको साथसाथै उपहार पनि बितरण गरिएको थियो । आर्टिसिया नगर स्थित फाउण्डेशनको कार्यलयमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार र स्थानीय समुदायका सदस्यहरुको उपस्थिती थियो । 

गुरु योगीले लास एन्जेलस पछि जुन ३ देखि जुन ७ सम्म डेनभर/क्लोराड़ो, क्लोराड़ो पछि जुन १० सम्म एरिजोनाका बिभिन्न शहरहरुमा नेपाली समुदायका अतिरिक्त स्थानीय समुदायहरुका लागि योगा,सत्संग तथा प्रबचन कार्यक्रमहरु संचालन गर्नु हुनेछ ।

जुन ११ देखि जुन २२ सम्म गुरु योगीको नेतृत्वमा टेक्सासको नेपाली समुदायको बालाबालिकाहरुको २ हप्ता लामो समर क्याम्प संचालन हुँदैछ । बालबालिकाहरुको समर क्याम्पका अतिरिक्त यसै अबसरमा उहाँ स्थानीय अमेरिकी समुदाय तथा नेपाली समुदायका बिभिन्न धार्मिक,सांस्कृतिक तथा योगा प्रशिक्षणका कार्यक्रमहरुमा सहभागी हुनु हुने टेक्सासबाट स्थानीय स्वयंसेवी कृष्ण लामिछानेले नेपालीपोष्टलाई जानकारी गराउनु भएको छ । टेक्सासमा यस अघि ३ वटा यस्ता बार्षिक समर क्याम सम्पन्न भैसकेका छन् । 

जुन २३ देखि २८ तारिखसम्म गुरु योगी वाशिंगटन डी सी मेट्रो क्षेत्र आसपासका बिभिन्न शहरहरुमा आयोजना हुने नेपाली सामुदायका कार्यक्रमहरुमा सहभागी हुँदै हुनुहुन्छ ।

यसै बीच जुन २५-२६ दुई दिने नेपाली बालबालिकाहरुका लागि समर क्याम्प नेपाल एजुकेशनल एण्ड कल्चरल सेन्टर ( एन सी सी ) को आयोजनमा नेपाली मन्दिर निर्माणाधीन स्थल बेल्स्भिल्लेमा हुने जानकारी कार्यक्रम व्यवस्थापन संयोजक लोकनाथ तिवारीले नेपाली पोष्टलाई गराउनु भएको छ । 

यसै बीच गुरु योगीले जुन २७ का दिन जर्ज वाशिंगटन युनिभर्सिटी वाशिंगटन डी सीको आयोजनमा डिसीमा सम्पन्न हुने एक योगा प्रशिक्षक कार्यक्रमको नेतृत्व पनि गर्नु हुनेछ । 
डिसी पछि उहाँले नर्थ क्यारोलिना, न्यु जर्शी, न्युयोर्कका बिभिन्न कार्यक्रमहरुमा सहाभागी हुनु हुनेछ । 

उहाँको जुलाईको पहिलो साता भर्जिनियाको स्यान्टिलीमा सम्पन्न हुने ए एन ए को २९ औं सम्मेलनमा पनि प्रबचन , योगा तथा सत्संग लगायतका कार्यकर्महरु सम्पन गर्नु हुने कार्यक्रम रहेको छ । योगी जुलाई ८ मा नेपाल फर्कंदै हुनहुन्छ । 

हिन्दू विद्या पिठ, नेपालका प्राचार्य एबम दर्जनौं धार्मिक र सामाजिक संस्थाहरुमा सक्रिय रुपमा आबध्द गुरु योगीले आगामी बर्ष पनि अमेरिकामा रहेका अन्य केही समुदायहरुमा पनि नेपाली बालबालिकहरुको लागि समर क्याम्पको आयोजना गर्ने जानकारी गराउनु भएको छ ।

गुरु योगीले बिगत केहि बर्ष देखि समरमा अमेरिकाको १ महिना लामो भ्रमण यस्तै कार्यक्रमहरु सहित गर्दै आई रहनु भएको छ ।